Tuesday, 2 July 2024


 आमा याङ्ग्री
साच्चै स्वर्गको एउटा टुक्रा हो"आमा याङ्ग्री"। धेरै समय अगाडिबाट मैले योजना बनाइ रहेको थिए त्यहाँ जान्छु भनेर।आमा याङ्ग्री आफैमा एक शक्तिशाली अनि अलौकिक शक्ति भएकी ल्हामो हुन् । 'याङ्ग' भनेको 'लक्ष्मी' र री भनेको डाँडाे यसको अर्थ आमाले लक्ष्मी बनेर रक्षा गरिदिएको डाँडाे ।  आमा  याङ्ग्रीलाई धनकी देवी लक्ष्मी पनि भनिन्छ। यो भूमि गुरु रिम्पोछेको पनि तपोवन रहेको छ ।  यो सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा अवस्थित छ। म यस पवित्र ठाउँमा मिति २०८० कार्तिक २ गते पुगेको थिए।कहिले बर्षात, कहिले हावाहुरी, कहिले स- साना खोल्चा खोल्सी त कहिले घट्ट चल्ने खोलीको सामना गर्दै एक्लै यात्रा मा निस्किए म। म घरबाट त्यस्तै ११ बजेतिर हिडेको होला।आमा बाबाको आशिर्वाद लिएर म घरबाट निस्किए आधुनिक युगको घोडामा। यात्रामा निस्किएको एक्लो केटो अलि अलि डर पनि लागेको थियो कतै बिच बाटोमा गएर अलपत्र पो पर्छु कि??तर कुल देवता देखि आफ्नो इष्ट देवता सबैलाई पुकार्दै हिड्दा म गन्तव्यमा सही र सुरक्षित ढंगले पुगे।




सहयोगी हातहरु पनि धेरै भेटिए बाटोमा। सबैमा धन्यवाद दिए यात्रालाई सकुशल पारिदिनु भएकोमा। धेरै दु:ख कष्ट सहेर भए पनि पुगे म मेरो सपनाको ठाउँमा। 'आमा याङ्गरी' समुन्द्र सतह भन्दा ३७७१ मिटर माथि अवस्थित रहेको छ। जहाँको बिहानीको दृश्य आफैमा मनमोहन छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित आमा याङ्ग्री आफैमा सुन्दरताकी खानी हुन् । हिलाम्मे बाटो छिचोल्दै करिब बेलुका ६:३० बजे पुगे म तार्केघ्याङ्बाट बेस क्याम्प । त्यहाँ पुग्दा आफ्नै सदरमुकाम नजिक बस्ने साथीहरुसङ्ग पनि भेटघाट भयो। बेलुकाको खाना सङ्गै खाइयो। अनि बिहान ४ बजे बेसक्याम्प बाट आमा याङ्ग्री पुग्ने निर्णय गरियो। साच्चै बेलुकीको आमा याङ्ग्रीको दृश्य पनि मनमोहक देखिएको थियो।मलाई त कतिखेर त्यहा पुगौ जस्तो भएको थियो तर बिहानसम्म त कुर्नु नै थियो। राती एकदमै चिसो थियो। चिसो त्यो सिरेटोले हान्दा त मनै सिरिङ्ग हुन्थ्यो। जस्तो तसो सुतियो। अनि सबेरै उठेर आफ्नो नित्य कर्म सकेर म लागे साथीहरुसङ्ग उकाली । बिहानीको चिसो हावाको स्पर्शसङ्गै लागियो यात्रामा। साथीहरू सङ्गै जादा रमाइलो भइरहेको थियो। बिहानै यात्रामा निस्कदा मोबाइलको लाइट बालेर गफिदै लाग्यो आमा याङ्ग्रीको शीरमा। सायद यो जीवनकै एउटा नवीन यात्रा थियो मेरो। बिहानीको त्यो झिसमिसेमा हिड्दा मनमा एक प्रकारको डर पनि पैदा भइरहेको थियो कतै जङ्गली जनावरहरुले आक्रमण पो गर्ने हुन् कि? तर यात्रामा कुनै रोकतोक, बाधाव्यवधान आएन। बाटोमा हिड्दा कतै बिसौनी पनि थिए। त्यो नाक ठोक्किने उकालो बाटोको अनुभुति खासै भएन किनभने उषाको किरण धर्तीमा आएको थिएन नि त। करिब एक घण्टा आधाको यात्रा सङ्गै पुगियो त्यो शीरमा'आमा याङ्ग्री'। भाग्यमानी नै भन्नुपर्छ उदाउदो सुर्यको दर्शन पनि पाइयो। आहा! ती हीराझै टल्किएका हिमशिखरका ती हृदय स्पर्षी दृश्य । याङ्ग्री हिमाल, लाङटाङ हिमश्रृङखला, जुगल हिमश्रृङखला, ग्याल्जेन पिक, भेमायाङ ज्योमोलिङ, गरी दर्जनौं हिमश्रृङखलाहरुको दृश्यले यो मन आनन्दित बनाएको थियो। त्यसपछि त्यहाँको बिहानीको पुजा गर्न गुम्बा खोलियो र मैले पनि आफुले गर्नुपर्ने  देव कार्य गरे। मन नै आनन्दित भयो  साङ धुप बालेर आमा याङ्ग्रीको प्रार्थना गर्दा । जे होस् आफ्नो मनोकामना पूरा गरिदिनु भएकोमा मनमनै धन्यवाद दिए । त्यहाँ गुम्बाभित्र पस्दाखेरी मलाई लागेको कुरा चाहिँ आमाले आफ्नो जीवनकालमा आफ्नो सन्तानको निम्ति गर्नु हुने सम्पुर्ण कुराहरुलाई भित्तामा मुर्ती कलाको रुपमा प्रस्तुत गरिएको थियो। त्यसपछि  करीब ३ घण्टाको बसाइपछि फर्कने सुरसार गर्न लागियो तर मन भने त्यही भुलिरहेको थियो। फर्कन मनै लागेको थिएन। त्यो ३ घण्टाको बसाइ पनि ५ मिनेटको जस्तो लागेको थियो। प्रकृतिको एउटा क्यानभास नै हो आमा याङ्ग्री। आखै अगाडि टल्किरहेका ती हिमश्रृङखलालाई छोडेर फर्कन मन नलागी नलागी पनि फर्कनु पर्यो। जे होस् मनको ईच्छा, आकाङ्क्षा र आस्था मनोकामना पूरा भएको पल थियो । फर्कने बेलामा डाँफेको जोडी देख्दा आफू  एक्लै यात्रामा निक्लेकोमा खल्लो पनि लागेको थियो।  फर्कदा बाटोमा तस्वीरमा आफू र प्रकृतीलाई क्यामेरा कैद गर्दै फर्कियौ। १० बजेतिर बेस क्याम्प आइपुगियो । हल्का खाजा खाएर बेसक्याम्पमा सबै कुराको व्यवस्थापन गरिदिनु हुने आमा बुबा , दाजुभाइ , दिदीबहिनीप्रति आभार व्यक्त गर्दै फर्किए। आँखाभरी आमा याङ्ग्रीको यादहरु बोक्दै मनमा सङ्गाल्दै फर्किए म आफ्नै जन्मभूमि ।
 













चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले किरै नमरोस् । म्हेन्दोपुपु❤